काठमाडौं। शेर्पा समुदायको साहसिक जीवन र सांस्कृतिक सम्पदालाई पर्दामा उतार्ने नेपाली चलचित्र “शेर्वा – द लाइफ अफ हिमालय” सन् २०२६ मा अन्तर्राष्ट्रिय रूपमा प्रदर्शनमा आउने भएको छ।

शेर्पा फिल्म्सको प्रस्तुति र 8के एक्सपेडिसनको सहकार्यमा निर्माणाधीन यो चलचित्र अहिले पूर्वनिर्माण चरणमा रहेको छ। निर्माण पक्षका अनुसार, चलचित्रले हिमाली जनजीवनको यथार्थतालाई पर्दामा भावनात्मक र दृश्यात्मक रूपमा प्रस्तुत गर्नेछ।
चलचित्रको संयुक्त निर्देशन कर्मा शेर्पा र दुर्लव जन्तरेले गर्नेछन् भने कथा कर्मा शेर्पाले लेखेका हुन्। पटकथा लेखनमा सुमन गजमेर, छायांकनमा रञ्जित श्रेष्ठ, संगीत संयोजनमा अटल राई र गायनमा सचिन राई संलग्न हुने पुष्टि निर्माण टिमले गरिसकेको छ।

नेपाली सिनेमा क्षेत्रका बहुप्रशंसित अभिनेता बुद्धि तामाङलाई चलचित्रको मुख्य भूमिकामा अनुबन्ध गरिसकिएको छ। निर्देशकद्वयका अनुसार तामाङको अभिनयले कथालाई गहिरो प्रभाव दिने अपेक्षा गरिएको छ।
चलचित्रका अन्य पात्रहरू खुला अडिसन र कास्टिङ कलमार्फत छनोट गरिने छन्। यसबाट हिमाली समुदायको वास्तविक प्रतिनिधित्व र नयाँ कलाकारको उदयलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको निर्माण पक्षको भनाइ छ।
निर्देशकद्वयले भनेका छन्, “हाम्रो उद्देश्य सिंगो हिमाली समाजको कथा संसारभर पुर्याउनु हो , जहाँ साहस, संस्कृति र आत्मबल मिसिएको जीवन पाइन्छ।”
चलचित्रलाई विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी गराउने योजना समेत रहेको जानकारी दिइएको छ। “शेर्वा – द लाइफ अफ हिमालय” नेपाली सिनेमा इतिहासमा हिमाली कथावाचनको नयाँ अध्यायको रूपमा हेरिँदैछ।
शानदार छायांकन, मौलिक संगीत र यथार्थ कथावस्तुमा आधारित यस चलचित्रले नेपाली सिनेमामा दुर्लभ विषय उठाउँदैछ। हिमाल जत्तिकै विशाल भावनात्मक गहिराइ बोकेको “शेर्वा”ले दर्शकको मनछुने विश्वास लिइएको छ।