बागलुङ । अग्लो पहाडी शिखर, जहाँ निलो त्रिपाल र पुराना थाङ्नाले छाएको अस्थायी गोठ छ। गोठ छेउमा भोटे कुकुरले सुरक्षा गर्दै छन् र वरपर हजारौँ भेडाहरू चरिरहेका छन्। यही दृश्यको बीचमा भेटिन्छन् टेकध्वज घतान – बागलुङको निसीखोला गाउँपालिका–६ निवासी, जो पाँच दशकभन्दा बढी समयदेखि भेडापालन गर्दै आएका छन्।

६४ वर्षीय घतान हाल टीकाधारा क्षेत्रमा झण्डै २०० भेडासहित बस्दै आएका छन्। उनीसँगै रोल्पा र रुकुमका सातजना गोठालाको समूह पनि त्यही गोठमा बस्छ। घतानको दिनचर्या बिहानै भेडा दुहुने, दिउँसो घाँस काट्ने र चराउने काममै बित्ने गर्छ।
टीकाधारा समुद्री सतहदेखि ४,२०० मिटरको उचाइमा रहेको बुकीपाटन क्षेत्रमा पर्छ। यहाँ गर्मीमा बाक्लो कपडा लगाउनुपर्ने चिसो हुन्छ। वर्षातमा लेक, जाडोमा बेँसी जाने उनीहरूको जीवनशैली विगतदेखि यस्तै छ।

यति लामो समय भेडापालन गरे पनि सरकारले आफूहरूलाई कुनै सहयोग नगरेको घतानको गुनासो छ। “कम्तीमा एउटा न्यानो ज्याकेट वा राम्रो त्रिपाल त दिए पनि हुन्थ्यो,” उनले भने, “कर्मचारीहरू बेलाबेला आएर नाम टिप्छन्, तर कहिल्यै केही दिँदैनन्।”
रुकुमका गोठाला सत्यराम विश्वकर्माले पनि राज्यले गोठ निर्माणका लागि सस्तो र बलियो त्रिपाल, सोलार लगायतका सामग्री उपलब्ध गराए ठूलो राहत हुने बताए। “तीन–चार ठाउँमा गोठ सार्नुपर्छ, सुविधा छैन, आफ्नै श्रमले बनाएका गोठमा बस्नुपर्छ,” उनले सुनाए।
यतिबेला बुकीपाटनमा बागलुङ, रोल्पा, रुकुम, म्याग्दी र डोल्पाबाट आएका सयौं गोठालाहरू बसेका छन्। आन्तरिक पर्यटकको आकर्षण बढेसँगै भेडी बथान नजिकै फोटो खिच्ने र नाच्ने गरेको गोठालाहरूको गुनासो छ।
गोठाला लेकबहादुर विकका अनुसार पर्यटकहरू भेडाको बथानमा छिरेर चिच्याउँदा भेडा तर्सिने र टाढा भाग्ने गर्छन्। “भेडा जम्मा गर्न घण्टौं लाग्छ, उल्टै पर्यटकले हामीलाई गाली गर्छन्,” उनले दुखेसो पोखे।




