नयाँ दिल्ली, भारत — प्रधानमन्त्री नरेन्द्र मोदीका विदेश भ्रमणमा भारत सरकारले सन् २०२१ यता ३६२ करोड भारु खर्च गरेको खुलासा भएको छ। भारतीय विदेश मन्त्रालयले बिहीबार संसदमा उक्त जानकारी सार्वजनिक गरेको हो।

तृणमूल कांग्रेसका नेता तथा राज्यसभा सांसद डेरेक ओब्रायनको प्रश्नको लिखित जवाफमा मन्त्रालयले दिएको विवरण अनुसार, केवल २०२५ को हालसम्मको अवधिमा मात्र पाँच देशको भ्रमणमा ६७ करोड भारुभन्दा बढी खर्च भइसकेको छ।
प्रधानमन्त्री मोदीले यस वर्ष फ्रान्स, अमेरिका, थाइल्याण्ड, श्रीलंका र साउदी अरब भ्रमण गरिसकेका छन्। मन्त्रालयका अनुसार अन्य नौ देशका भ्रमणको खर्च विवरण अझै प्रशोधन भइरहेको छ।

यसअघि २०२१ देखि २०२४ को अवधिमा प्रधानमन्त्रीको विदेश भ्रमणमा २९५ करोड भारु खर्च भएको मन्त्रालयले जनाएको छ।




