काठमाडौं । लगातारको अनावृष्टिका कारण खानेपानी र सिँचाइमा गम्भीर असर परेको भन्दै सरकारले मधेस प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ अनुसार यस्तो निर्णय गरेको हो। निर्णयअनुसार राजपत्रमा सूचना प्रकाशित भएको मितिले तीन महिनासम्म मधेस प्रदेश संकटग्रस्त क्षेत्र रहनेछ।
अनावृष्टिका कारण जमिनमा सुक्खा, भूमिगत पानीको कमी, नदी–पोखरी सुक्न थालेपछि आठवटै जिल्लामा दैनिक जीवन र कृषि प्रभावित बनेको सरकारको निष्कर्ष छ।

यसअघि प्रदेश सरकारले पनि मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ।




