काठमाडौं । नाडा र सीसीपीआईटी अटोबीच अटोमोबाइल क्षेत्रको व्यापार र सहकार्यलाई थप मजबुत बनाउन सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र चीन काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड, अटोमोबाइल सब–काउन्सिलबीच महत्वपूर्ण सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
प्रधानमन्त्री ओलीको मंसिर १७ गतेदेखि सुरु भएको औपचारिक चीन भ्रमणको क्रममा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गएको व्यापारिक प्रतिनिधिमण्डलमा नाडाका अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार उपे्रतीको उपस्थित छन् । सो भ्रमणका सन्दर्भमा पूर्वनिर्धारित कार्यक्रम अनुसार दुई देशका व्यापारिक प्रतिनिधिमण्डलबीच विभिन्न विषयमा छलफल भएको र सोही क्रममा यस्तो सम्झौता भएको हो ।
यो सम्झौताले नेपाल र चीन बीच आर्थिक सम्बन्धलाई सुदृढ गर्न, व्यापार प्रवर्द्धन गर्न र अटोमोबाइल उद्योगमा दिगो विकासका सम्भावनाहरू अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने नाडाको दाबी छ । समझदारीअनुसार व्यापार मेला, व्यावसायिक प्रतिनिधिमण्डलको आदानप्रदान र नीति वकालत जस्ता संयुक्त पहलमार्फत दुबै देशका अटोमोबाइल उद्योगका नयाँ सम्भावनाहरू खुलाउने लक्ष्य राखिएको नाडाले जनाएको छ ।