काठमाडौं । नेपालमा पर्यटक आगमन नोभेम्बर महिनामा पछिल्लो चार वर्षयताकै उच्च बनेको छ । सन् २०२४ को नोभेम्बरमा नेपालमा १ लाख १४ हजार ५०१ जना पर्यटक भित्रिएका छन् ।
यो संख्या सन् २०२३ को नोभेम्बरको तुलनामा ७ हजारले बढी हो । गत वर्ष सोही अवधिमा १ लाख ८ हजार ६३० जना पर्यटक नेपाल आएका थिए।
पर्यटक आगमनको तथ्यांक हेर्दा, सन् २०२२ को नोभेम्बरमा ७२ हजार ६५३, सन् २०२१ मा २६ हजार १३५, र सन् २०२० मा केवल १९ सय ५६ जना मात्रै नेपाल आएका थिए । सन् २०२० मा कोभिड महामारीका कारण पर्यटक आगमन अत्यन्त न्यून थियो।
हालको तथ्यांकले देखाए अनुसार, सन् २०१९ को स्तरको तुलनामा पर्यटक संख्या बढे पनि अझै त्यस अवधिको आगमनलाई पुनः प्राप्त गर्न सकेको छैन। सन् २०१९ को नोभेम्बरमा नेपालमा १ लाख ३० हजार ३०२ जना पर्यटक भित्रिएका थिए।
सन् २०१९ को तुलनामा नेपालमा ८७ प्रतिशत पर्यटक आगमनको रिकभरी भएको छ। यद्यपि, सन् २०१९ अहिलेसम्मकै सबैभन्दा बढी पर्यटक आगमन भएको वर्ष भएकाले त्यसपछि सोही स्तरमा पर्यटक संख्यामा पुग्न अझै समय लाग्ने देखिन्छ।
साढे १० लाख पर्यटक नेपाल भित्रिए
सन् २०२४ को पछिल्लो ११ महिनामा साढे १० लाख पर्यटक नेपाल आएका छन्। यो संख्या सन् २०१९ को तुलनामा ९६ प्रतिशत हो।
सन् २०१९ को ११ महिनामा १० लाख ९६ हजार पर्यटक नेपाल भित्रिएका थिए। यस वर्ष (सन् २०२४) को ११ महिनामा १० लाख ५५ हजार ५३३ जना पर्यटक नेपाल आएका छन्।